Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

०६१ सालमै डाक्टरले दिएका थिए दुई वर्षको ‘डेट’ गोजीभरि ओखती बोकेर जीवन लम्ब्याउँदै गरेका

असार १९, २०७३- यासेली योङहाङ लिम्बुको ठम्याइमा जन्म र मृत्युको झोलुङ्गोमा पिङ खेलेजस्तै हो, जिन्दगी । बाँच्ने आयुको टुंगो हुन्न । उनी आफ्नै उदाहरण दिन्छन्, गोजीभरि ओखती बोकेर लम्ब्याउँदै गरेको जिन्दगी । तर, त्यसको लम्बाई र चौडाई अनि उचाई र मोटाईको भर छैन । कतिखेर फुत्तै फुत्किने हो । भर छैन ।
जिन्दगी बारे यति बोलिसकेपछि लाग्ला, को हुन् यासेली । तपाईं के हो ? प्रश्नमा यासेलीको उत्तर छ, म, के हो ? के हो ? भेटेको जति, गर्नु पर्ने भनेर सोचेको जति र सकेको जति गरेको मान्छे । अहिले आफैलाई फर्केर हेर्छु केहो ठ्याक्कै खुट्याउन भने सक्दिन । हुनपनि हो । के उनी कलाकार हुन् ?, लेखक हुन् ? गायक हुन् ? सामाजिक अभियन्ता हुन् ? वा आन्दोलनकारी ? (त्यो पनि संघीय लिम्बुवानको ।) यी सबै हुन् उनी । यी सबैका खास हुनसकेनन् उनी ।
राजधानीको जोरपाटीस्थित नारायणबस्तीको छिंडी कोठामा भेटमा उनी त्यही भनिरहेका थिए, ‘के भएँ म आफैलाई थाहा छैन ।’ तर, उनले नगरेको काम केही छैन । उनले गीत लेखेका छन्, गाएका छन्, फिल्ममा खेलेका छन्, नाटक गरेका छन्, आदिवासी जनजातिको लागि आन्दोलनमा लागेका छन्, लिम्बू भाषाका पढाउँदै हिंडेका छन् । तर, उनी केही समयदेखि यी सबैबाट टाढिंदै छन्, स्वास्थ्य बिग्रदै गएको छ । जीविका गाह्रो हुन थालेको छ । उनी भन्छन्, ‘तैपनि हिंडिरहेकै छु, बोलाएको ठाउँमा पुगेकैछु ।’
ओखतीले लम्ब्याउदै गरेको जिन्दगी
यो उनकै शब्द हो । उनको अस्पताल यात्रा ०६१ सालतिर मृगौलाको पत्थरीले सुरु गरायो । उनको पहिलो अप्रेसन पाटन अस्पतालमा गरे । तर, सफल भएन । फेरि उनले ०६३ सालमा हिमाल नर्सिङ होममा अप्रेसन गराए । त्यही डाक्टरले थप बिगारे । त्यही उनलाई डाक्टरले जीवनको समयसीमा तोकिदिए दुई बर्ष ।
तर, हरेश खाएनन् । उपचार खोज्दै भारतको बेङ्गलोर पुगे । सिलिगुढी पुगे । त्यहाँका डाक्टरले उनको मृत्युको समयसीमा खारेज गरिदिए । उनी भन्छन्, ‘मान्छेलाई तँ मर्छस् भन्दा जस्तो लाग्छ, त्यसै गरेर तँ बाँच्छस् भन्दा ठ्याक्कै उल्टो अनुभूति हुँदो रहेछ । त्यसले प्राण भर्दो रहेछ ।’
उनी यसलाई पनि ठट्यौलो पारामै सुनाउँछन् । भएछ के भने, उनलाई नेपालका डाक्टरले दुई बर्षमात्र बाँच्छ भनेर तोकेपछि बेङ्गलोर पुगेछन् । त्यही डाक्टर एन.के. केजरिवालले सबै कागज हेरेपछि टुटेफुटेका नेपालीमा सोधछन्, यो डाक्टर कहाँ छ? उनले सोझो उत्तर दिएछ, ‘काठमाडौंमा ।’ हँ तँ काठमाडौंमा, डाक्टर कहाँ छ ? फेरि उत्तर उही काठमाडौंमा । पछि तिनै डाक्टरले बेली विस्तार लगाएछन् । उनी डाक्टर भएको भए यस्तो लेख्छन् ? बल्ल यासेलीले बुझे, ए सोधिएको त डाक्टरको योग्यता बारे पो रहेछ । तिनै डाक्टरले उनको पछिल्लो अप्रेसन ०६७ मा सिलगुडीमा गरे । अब उनको मृगौला एउटामा ४० प्रतिशत बाँकी रह्यो । अर्को बिगारिएको पूर्णत काम नलाग्ने भयो । उनले डाक्टरलाई सोधे, म बाँच्छु त डाक्टर साब ? डाक्टरले उल्टै उत्तर दियो, तपाईंलाई के भएको छ र ? तपाई किन नबाँच्ने ? उनले सम्झे, म भन्दा मलाई दुई वर्ष जिन्दगी तोक्ने डाक्टर पहिला मर्छन् होला । यही भरोसामा अहिलेसम्म यासेली बाँचिरहेका छन् ।
यसैमा थपिएको छ सुगर, प्रेसर पछिल्लो समय एउटा अप्ठ्यारो बिमार । बोल्दा बोल्दै भाउन्न छुट्छ । जुरुक्क उठ्यो ढल्न खोज्छ । गत चैतमा कोटेश्वरमा उनी गुड्दा गुुड्दैको मोटर साइकलबाट झरे । उल्टै प्रहरीले उनको नाममा मापसे चिट काटी सकेको रहेछ । यो पनि उनको जीवनको किस्सा बन्यो । कोटेश्वरमा ढलेपछि पछाडि आउँदै गरेको प्रहरीको भ्यानले उठाएछन्, अस्पतालतिर लग्दै गर्दा बाटैमा बिउझिएछन् । प्रहरीले सोधेछन्, रक्सी खाएको छस्, पहिले त खाएको थिएन, तिमीहरुले समातेपछि खाएँ । यो पनि पछि प्रहरीले सुनाएपछि थाहा पाए । त्यसअघि नै ट्राफिकले मापसेको चिट काटी सकेछ ।
उनलाई यस्तो लक्षण देखिएको पनि १२ भयो । उनले जचाएका पनि छन् । तर, नियमित छैन । उनी भन्छन्, खर्च जुटेकै छैन नियमित जँचाउन । जुटेको बेला जचाएको छु । केही भेटिन्न । उनकै भनाईमा यसअघि कै गरिरहकै उपचारमा धेरैले सहयोग गरेका थिए । आफुसँग भएको पनि सिध्याए । नियमित औषधी खाने र घरभाडा तिर्ने पैसा त छैन । कसरी नयाँ बिमार जचाउनु ? उनको नियमित औषधीमा मात्र महिनामा दश हजार खर्च हुने गरेको बताउँछन् ।
अझै बल गरिरहेकै छन्
उनको विशेष योगदान लिम्बु भाषामा छ । चुपचाप आफ्नो कर्ममा लागि रहने खासै चर्चामा नआउने यासेलीले लेखेका २ सय ९२ वटा लिम्बु भाषाका गीत स्वरबद्ध छन् । तीमध्ये केही गीत आफैंले पनि गाएका छन् । उनका नेपाली भाषामा दर्जनभन्दा बढी लोक, आधुनिक गीतहरु स्वरवद्ध छन् । अझै उनको गीति सिर्जना जारी छ । ‘यासेली योङहाङका उत्कृष्ट लिम्बु गीतहरुको संग्रह’ प्रकाशन हुने तरखरमा छ ।
उनले लिम्बुको मुन्धुम संकलन गरेका छन् । विशेष गरी सृष्टि मुन्धमको वर्णन पक्ष महत्वपूर्ण छन् । ताप्लेजुङको उत्तरी भेगका साम्बा, यबा, बिजुवाहरुबाट संकलन गरिएको उनले जनाएका छन् । तर, यो संकलित कृति पाण्डुलिपिमै सीमित छ । प्रकाशनमा आउन सकेको छैन । उनी भन्छन्, ‘यहाँ पनि खर्चकै कुरो हुँदो रहेछ । मनले मात्र नहुने ।’
त्यसो त उनी नाटक पनि गर्छन् । ९ वर्षकै उमेर उनले नाटकमा ब्रेक पाएका थिए । एउटा चकचके केटाको रोलमा । उनको भूमिका नाटक भरी चकचक गरिरहने रोल थियो । त्यहीबाट तन्किएको उनको नाटक यात्रा लम्बिएर डेढ दर्जन स्टेज नाटकसम्म पुगे । नाटकमा पनि उनी लिम्बु भाषामै बढी जमे लिम्बु भाषाको ८४ वटा रेडियो नाटक लेखेका र रेकर्ड भई प्रसारण भएका छन् । त्यस्तै, लिम्बु भाषामै ९ वटा स्टेज नाटक लेखन तथा निर्देशन गरेका छन् ।
त्यस्तै, गीतिनाटक ‘अम्लारी फुङ’ (सुनाखरी फूल) प्रस्तुत गरेका छन् । यो गीतिनाटक आदिवासीको पहिलो र अन्तिम गीतिनाटक हो भन्ने उनको दाबी छ । यस गीति नाटकमा उनी आफैले लेखेको, तेज यक्सोको निर्देशन र यासेलीको सहनिर्देशनमा विभिन्न १३ वटा गीत समावेश छन् । डेढ घण्टा लामो छ । लिम्बुमा बैजनी रंगको फूल दिए प्रेमको प्रस्ताव हुन्छ । मैले कुनै तरुनीलाई दिएँ । उसले सेतो वा रातो फूल सुनाखरी फूल पठाए, स्विकारेको बिम्ब हो । मुन्धुममै यही छ । केटीले अम्लारी फूल सिउरेर उनेर पठाइ दिन्छ । केटाले बाँसको थाक्रा काइँयो पठाइ दिन्छ । त्यही बिम्ब हो– अम्लारी फुङ ।
अझ उनी यतिमा अडिएका छैनन् । उनले केही फिल्ममा पनि भूमिका गरेका छन् । यासेलीले अभिनय गरेका फिल्महरुमा सहिदकी आमा, नुमाफुङ, ब्लक लिभ ठूलापर्दाका चर्चित चलचित्र हुन् । लिम्बु फिल्म चेसुङ, केबाकोक्मा, आनिसाक्थिममा यासेलीको भूमिका रहेको छ । दलन, पोक्चेडाँडा जस्ता टेलिसिरियलमा पनि उनी देखिन्छन् । डेढ दर्जन जति म्युजिक भिडियोमा पनि द्खिए । ‘मलाई दर्शकले चिनेको म्युजिक भिडियोले हो,’ उनको बुझाइ छ, ‘कार्यक्रम सञ्चालक, स्टेण्ड अफ कमेडियनका रुपमा पनि चिन्दछन् ।’
यासेलीले डेनमार्कबाट अभिनय कलामा तीन महिने कोर्स गरेका छन् । नाटक अभिनयमै छनोटमा परेर इन्डियाका विभिन्न ठाउँ, नर्वे, अस्ट्रेलिया, स्वेडेन, ग्रीनल्याण्डमा अभिनय यात्रा गरेका छन् । अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश, भुटान, हङकङ, इजरायलमा नाटक, स्टेज सो, कार्यक्रम संचालन, मुन्धुम गोष्ठीका निम्ति पुगेका छन् ।
नामको कथा
यासेलीको खास नाम भीमप्रसाद हो । तर, ०५२ सालतिर डा. स्वामी प्रपन्नाचार्यले किराती युवाहरुलाई जनै लगाइदिनेलगायतका कार्यको विरोधमा एक पुस्तिका निकाले । त्यसमा उनले नाम राखे यासेली योङहाङ । पुस्तक प्रकाशन भएपछि उनी भूमिगत बन्न बाध्य बने । आफ्नै साथीहरुको सहयोगमा एक दिन एक रात अपरहरणमा परे । अनि त्यही नाम स्थायी बन्न पुगे ।
जिन्दगी अर्को एक किस्सा
पाँचथरको नागी–९ चित्तोकमा २०३० सालमा जन्मेका यासेली सानैमा तीन बोत्तल कागतीको चुक र आमाको चप्पल च्यापेर गाउँले काकाको पछि लागेर झापा झरे । चुक बेचेर बाटो खर्च जोहाड गर्न र आमाको चप्पल लाउनलाई च्यापेका थिए । झापाको धुलाबारी माविबाट २०४७ सालमा एसएलसी पास गरेको यासेलीले बीएसम्म पढेका छन् ।  
यासेली कुरो बुझ्ने भएको बेला किरात लिपिका अभियन्ता आसमान सुब्बाले लेखेको हस्तलिखित ‘किरात साम्यो नु येच्छामथिम’ (किरात धर्म र विधिविधान) पुस्तक पढ्न पाएका थिए । किरात लिपि लेख्न सिकेका थिए । झापामा उनले त्यही सिकाउन थाले । केटाकेटी जम्मा गरेर पढाउन थाले । उनी भन्छन्, १३ बर्षमै किरात लिपिमा सिकाउन पाउने भएपछि आफुलाई ठूलै मान्छे भएको अनुभूति भयो ।
तर, त्यही बेला पुलिस पस्यो गाउँ । उनी सहित पढ्न आउने सबै समातिए । कुरो २०४३ सालतिरको हो । बनियानी पुलिस चौकीमा लगेर चुट्नु चुट्यो । बात लगायो, बामे । थप्छन्, ‘यो बामे भनेको के होला भन्ने लागि रह्यो ।’ पछि चन्द्रगढी कारागार चलान गरेपछि भने चिनियो बामे भनेको त्यस बेलाका कम्युनिस्ट रहेछन् । तीन महिना २७ दिन जेलमा बस्दा बामेहरुसँग संगत राम्रै भयो । तर, छुटेपछि कहिल्यै सम्पर्कमा गएनन् । तारिख पनि धाएनन् । बरु आफ्नै पाराले भूमिगत रहे ।
बहुदल आयो । फेरि पढाउन थाले । धेरै ठाउँ पढाए, लिम्बु भाषा र लिम्बु लिपि अर्थात् किरात लिपि । पढाउँदै गरेको ठाउँमा अर्कोले पढाउन जानेपछि छाडिदिन्थे र आफू अर्को ठाउँमा पढाउन पुग्थे । त्यस्तै एक दिन बैरागी काइँलाले बोलाएको छ । भन्दै एकजना मान्छे स्कूलमै आइपुगे । लाग्यो सुनेको काइँला कस्तो होला । चिरिच्याट परेको होला । तर, पुग्दा थाहा भयो, म भन्दा पनि उम्दाका रहेछन्, रिसाएको बाघ जस्तो ।
यसरी डा. माधवप्रसाद पोखरेल, भिक्टर प्रधान, बिरही काइँला, यहाङ लाओती, नवल फाइबालीहरुसँगै उनी लिम्बु भाषाको शब्दकोश निर्माणको कार्यमा सहभागी बने । ०५० को अन्तिम तिर राजधानी छिरे । कामको खोजिकै क्रममा उनी ललितपुरको सानो हातिवनस्थित किरात धार्मिक माङहिम (देवघर) को पूजारी बन्न पुगे । यासेली यही धार्मिक थलोमा १३ महिना पूजारी बने । त्यही पुजारी रहेको बेला हात्तिवनको जंगलमा तीनजना झुण्डिएर मरे । एक जनालाई झुण्डिन लाग्दा डोरी काटेर बचाए । उनी भन्छन्, ‘बुढी मान्छे रहेछन्, मर्न दिएन भनेर मलाई गाली गरे ।’
यासेलीसँग आफ्नो जीवनका उतारचढावहरुलाई पनि रोचक पाराले सुनाउने अनौठो खुबी छ । आफ्नै उपचार गराउनका लागि आर्थिक अभाव भइरहेको बेला छोरीलाई पनि मुटुको रोगको च्याप्यो । छोरीले जेनतेन एसएलसी पास गरिनन् यसै वर्ष । बाबु छोरी दुवै बिरामी परिरहेपछि परिवारको मियो बनेकी छिन्, श्रीमती शिलशिला राई । ‘मैले कमाइ गर्न नसक्ने भएँ । उनै (श्रीमती)को भरमा जिन्दगी चलिरहेको छ,’ जिन्दगीसँग कुनै नरहेको बताउँदै उनी भन्छन्, ‘अलि बाँच्न पाए, अहिलेसम्म गरिएका कामहरु अलि व्यवस्थित गरौंकी भनेको ।’
उनी आफ्नै दु:खलाई पनि किस्सा जस्तै बनाउँछन् । भन्छन्, जहिले पनि मान्छेका वर्तमान तितो हुन्छ रे । मेरो पनि तितै छ । तर म तितो ठान्दिन । मलाई समस्या छ । बोलिरहँदा सात महिनाको घरभाडा तिर्नै बाँकी छ । तर, समाजको चिन्ता छ । गोजीभरि पाँचथरी दबाई छ । मेरो आनीबानी देखेर अरु छक्क पर्छन् । योजनावद्ध केही छैन । जहिल्यै आर्थिक संकट छ । तर म दु:खी छैन । आलिसान बंगला, ठूलो कार चढ्ने सपना छैन । किनकि कात्रोमा गोजी हुँदैन ।
यासेलीका एकल रचनाका गीति एल्बम
१) मित्तोक (चिनो)
२) मालाजे (मातृभूमि)
३) से:माङ (सपना)
४) बलिहाङ मुन्धुम (देउसी कथा)
५) लुङा तरेबे (पाहुनाज्यू)
६) मोसेमी (महाज्योति)
७) खासाम (सभ्यता)
यस ‘खासाम’ एल्बम गायिका झुमा लिम्बु र यासेली स्वयंको स्वर पनि रहेको छ ।
फोटो सौजन्य : सुक तुम्रोक
यासेलीबारे नविन सुब्बा
यासेली योङहाङले लिम्बु कला, संस्कृतिको क्षेत्रमा धेरै योगदान गरेका छन् । उनी नभएको भए लिम्बु गीत संगीतको अहिलेको स्वरुप प्राप्त गर्दैनथ्यो । उनले ठूलो योगदान गरेका छन् । अभिनयभन्दा पनि मुख्य गीत संगीतमा उनको योगदान रहेको छ ।


Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget