अधिकांश सर्जक-कलाकारको गुनासो सुनिने गरेको छ – आफूले योगदान गरेअनुसार राज्यबाट उचित सम्मान पाइएन । तर, पछिल्लो समयमा सरकारले सीमित लेखक-कलाकारलाई भत्ताको सुविधा दिन थालेको छ ।

घिमिरे भन्छन् – थिति बस्यो
भत्ता रकम वृद्धिबारे प्रतिक्रिया माग्दा राष्ट्रकवि घिमिरे उत्साही सुनिए ।
‘भत्ता रकम सरकारले बढाएकोमा स्वाभाविक रुपमा खुसी नै लाग्यो,’ राष्ट्रकविले अनलाइनखबरसँग खुसी बाँड्दै भने – ‘अहिले राष्ट्रकवि म छु, पछि अर्को आउँछ । अहिले भत्ता बढेपछि नयाँ आउनेका लागि पनि थिति बस्यो ।’
लेखकहरु आफ्नो काम र कृतिबाट जीवन निर्वाह गर्न नसक्ने भएकाले उनीहरुलाई राज्यले हेर्नु राम्रो कुरा भएको उनले बताए ।
अरुलाई २५ हजार भत्ता दिने गरिए पनि आफूलाई १५ हजार रुपैयाँ मात्रै दिइँदा राष्ट्रकवि खिन्न थिए । उनले अरुसरह भत्ता रकम बढाउन केही महिनाअघि प्रधानमन्त्री केपी ओलीसँग कुरासमेत गरेका थिए । कवि घिमिरे भन्छन् – ‘प्रक्रिया पूरा गर्दावर्दा बढाउन एक-डेढ महिनाको समय लागेछ । राष्ट्रको हैसियतअनुसार यत्तिको सुविधा पाउनु पर्याप्त नै मान्नुपर्छ, राष्ट्रप्रति कृतज्ञ छु ।’
अहिले ९८ वर्षमा हिँडिरहेका घिमिरेमा उच्च रक्तचाप र मधुमेहको सामान्य समस्या छ । भत्ता रकमलाई ओखतिमूलो, तरकारी र कतै जाँदा सवारीखर्चमा खर्चने गरेको उनले सुनाए ।
झमक र व्याकुललार्इ पनि २५ हजार
सरकारबाट मासिक भत्ता रकम पाउने अर्की साहित्यकार हुन् ‘जीवन काँडा कि फूल’ लेख्ने झमक घिमिरे ।

यसका साथै राष्ट्रियगानका रचनाकार र संगीतकारलाई पनि यसअघिको सरकारले मासिक भत्ताको व्यवस्था गरेको थियो । राष्ट्रियगानका रचनाकार व्याकुल माइलाले पनि झमकलेजस्तै मासिक २५ हजार पाउँदै आएका छन् ।
राष्ट्रकविको उपाधि र सुविधाको सोच
डा. विमल कोइराला सरकारका मुख्य सचिव भएको समयमा उनकै अग्रसरतामा घिमिरेलाई राष्ट्रकविको उपाधिले सम्मान गरिएको थियो ।आफैं पनि गीत र कविता लेख्ने कोइरालाले अनलाइनखबरसँग भने – ‘त्यसबेला धेरै लेखकबाट माधव घिमिरेलाई राष्ट्रकवि उपाधि दिनुपर्यो भनेर सिफारिश आएअनुसार क्याबिनेटमा मैले मौखिकरुपमै प्रस्ताव गरेको थिएँ ।’
त्यसबेला प्रधानमन्त्री थिए सूर्यबहादुर थापा । मुख्यसचिवले प्रस्ताव गरेको दोस्रो-तेस्रो दिनमै क्याबिनेटले राष्ट्रकविबारे निर्णय गर्यो ।
तत्कालीन मुख्यसचिव कोइरालाले ६५ वर्ष नाघेर पनि सिर्जनामा सक्रिय लेखक/कविहरुलाई निश्चित मापदण्ड बनाएर केही न केही सुविधा दिने सोच बनाएका थिए । तर, त्यो यत्तिकै अलपत्र पर्यो । ‘लेखनमा लागेर गुजारा चलाउन समस्या भएकाहरुलाई आत्मसम्मानसहित बाँच्न सक्ने गरी वृत्ति दिन सकिन्छ कि भनेर कुरा चलाएँ,’ आफ्नो योजनाबारे कोइरालाले अनलाइनखबरसँग भने – ‘त्यसका लागि संस्कृति मन्त्रालयका सचिवलाई मापदण्ड बनाउन लगाए पनि मापदण्ड नै नबनेपछि योजना यत्तिकै तुहियो ।’
स्रष्टा भन्छन्– राज्यले प्रतिभालाई चिनेन
सरकारले केही सर्जकलाई सुविधा दिएर प्रतिभाको कदर हुने ‘ट्रेलर’ देखाएको छ । तर, यत्तिको ट्रेलर जे-जसरी आएको छ, त्यसलाई केलाउँदा सेवा, सुविधा र सम्मान दिने नेपाली समाजको संस्कृति नै हैन रैछ भन्ने प्रस्ट हुने कतिपय स्रष्टाहरूको गुनासो छ । र, यस्तो उदाहरण बनेका छन् व्याकुल माइला र स्व. अम्बर गुरुङ ।
अम्बर र व्याकुलले राष्ट्रिय गान बनाएवापत राज्यबाट पाँच-पाँच लाख रुपैयाँ पाएका थिए । देशकै शक्तिसँग जोडिएको राष्ट्रिय गानका स्रष्टालाई जीवन निर्वाहका लागि सरकारबाट आजीवन सुविधा दिने कुरा पनि आएको थियो ।
कतै जागिर नभएर गुजारा चलाउन समस्या खेपिरहेका व्याकुल यसबाट उत्साहित बनेका थिए । अम्बर चाहिँ संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति थिए । तर, सुविधाको कुरो लामो समयसम्म अलमलमै बित्यो ।
व्याकुल माइलालाई मासिक वृत्ति दिन ०६७ सालमा संस्कृति मन्त्रालयले स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पत्र पठाएको थियो । तर, त्यो पक्रिया अघि नबढी सेलायो ।
व्याकुल पुरानो पीडा यसरी पोख्छन् – ‘डेराको बसाइमा रहेको बेरोजगार म राष्ट्रियगानको रचनाकारका रुपमा विभिन्न कार्यक्रमहरुमा सहभागी भइरहनुपर्थ्यो । तर, त्यसरी दौडिरहनुपर्दा आफ्नो राष्ट्रिय व्यक्तित्वको इज्जत धान्नै चर्को पर्यो । ऋणपान र सरसापट गरेर काम चलाउनुपर्यो ।’
त्यसो त ०६७ सालदेखि विभिन्न संघ-संस्था र सर्वसाधारणको दबावस्वरुप सरकारले बल्ल ०७१ मंसिरदेखि माइलालाई मासिक रु २५ हजार रुपैयाँ भत्ताको व्यवस्था गर्यो ।
बौद्धिक क्षेत्रबाट समाजलाई योगदान गर्ने मान्छे उपचार खर्च अभावमा छटपटाउनुपर्ने अवस्था नआओस् भन्ने उनलाई लाग्छ । उनी अनलाइनखबरसँग भन्छन् – ‘हामीले पैसा र भत्ता पाइएला भनेर लेखेको हैन, तर कसलाई कुन किसिमको मर्यादा दिनुपर्छ भनेर राज्यको चिन्तन हुनुपर्छ ।’
केही नपाउनुभन्दा अहिले पाइरहेको भत्ता रकमले घर खर्चमा निकै सघाएको उनी बताउँछन् ।
कुनै पनि देशको चिनारी र विशिष्टता त्यहाँको कला, संस्कृति र साहित्यले बोल्छ । मानचित्रले देशको भूगोल कोर्छ । तर त्यो भूगोलमा जीवन र पहिचान भर्ने काम सांस्कृतिक मूल्य र साहित्य-कलाले गर्छन् ।
यस्तो सामाजिक मूल्य स्थापना गर्ने सर्जक र कलाकारहरुले हामीकहाँ राज्य एवं समाजबाट सधैं बेवास्तामा पर्ने गरेको गुनासो गर्ने गरेका छन् ।
स्वस्थ र सक्रिय बेलामै सुविधा देऊ
राष्ट्रिय गान लेख्ने व्याकुललाई भत्ता रकमको व्यवस्था गरे पनि त्यसमा धून भर्ने अम्बरबारे सरकारले सोचेन ।
साहित्यकार तथा संगीत अन्वेषक प्रकाश सायमी सम्झन्छन् – ‘व्याकुललाई मात्रै सरकारले सुविधा दिएको थाहा पाएपछि अम्बरको आत्मामा अपमानको गहिरो चोट पर्यो । यही कुराले मन खाँदा त्यतिबेला उहाँ बिरामी नै पर्ने अवस्था आयो ।’
गत वर्षको बैशाखमा मात्रै अम्बरका लागि सरकारले मासिक वृत्ति ३० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको थियो । त्यसका लागि सायमी लगायत संगीतप्रेमीहरुले पत्रकार सम्मेलन गर्नुका साथै दवाब दिँदै संस्कृति मन्त्रालय नै धाउनुपर्यो । भलै अम्बर बिरामी परेका बेला सरकारले सबै खर्च बेहोर्ने निर्णय गरेर अन्तिम घडीमा आफ्नो जिम्मेवारी देखायो ।
नेपाली लेखकहरुले सामान्यतया रोयल्टी नपाउने र सिर्जनाको पुनर्प्रयोगवापत कतैबाट केही प्राप्त नहुने भएकाले राज्यबाट खास सेवा-सुविधा मिल्नुपर्ने सायमी बताउँछन् ।
‘सेवा-सुविधा स्वस्थ अवस्थामै दिनुपर्छ,’ उनी सुझाउँछन् – ‘हात-गोडा लागेकै अवस्थामा दिँदा सिर्जनामा ऊर्जा मिलोस् ।’
Post a Comment