असार १४ – इटाली युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको अन्तिम १६ को खेलमा डिफेन्डिङ च्याम्पियन स्पेनलाई २–० ले हराएर इटालीले अन्तिम ८ मा स्थान बनाएको हो ।
यसअघिको लगातार दुई पटकको विजेता स्पेनलाई हराउन इटालीका जर्जियो चिलिनी र ग्रासियानो पेलेले एक एक गोल गरे ।
३३ औं मिनेटमा चिलीनीले गोल गर्दै इटालीलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० पछि परेको स्पेनले खेलमा फर्किने प्रयास गरेको थियो ।
बलमा नियन्त्रण तथा पोस्ट प्रहार पनि स्पेनको बढी भएपनि गोल गर्न भने सकेन । इन्जुरी समयमा पेलेले गोल गर्दै इटालीलाई २–० को जित दिलाए ।
स्पेनका गोलरक्षक डेविड डी हेयाले राम्रो बचाउ गरेपछि टिमले गोल गर्न नसक्दा हारबाट जोगाउन सकेनन् । उनले पहिलो हाफमा मात्रै तीन वटा सुन्दर बचाउ गरेका थिए ।
पेरिसमा भएको खेलमा इटालीले सन् २०१२ को फाइनलमा बेहोरेको हारको बदला लियो । अघिल्लो युरोकपको फाइनलमा इटाली स्पेनसँग ४–० ले पराजित भएर उपविजेतामा सीमित भएको थियो ।
स्पेनका सर्जियो रामोसले हेडमार्फत प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन । यस्तै आन्द्रे इनिएस्टा र जेराड पिकेको प्रहार इटालीका गोलरक्षक जियानलुइजी बुफोनले रोके ।
इटालीले दोस्रो गोल गर्नु अघि बुफोनले पिकेको पोस्ट प्रहारको बल डाइभ हानेर बचाउ गरेका हुन् । स्पेन सन् २०१४ को ब्राजिल विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो ।
यो युरोकपको समूह चरणका अघिल्ला दुई खेल जितेको स्पेन अन्तिम खेलमा पराजित भएर समूह डीको उपविजेता बन्दै नकआउट चरणमा आएको हो ।
यस्तै इटाली भने समूह इको विजेताको रुपमा अन्तिम १६ मा आएको थियो । स्पेनलाई घर फर्काउन सफल भएको इटालीले अब क्वाटरफाइनलमा विश्व विजेता जर्मनीसँग खेल्नेछ ।



























Post a Comment