Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

प्रोस्टेटले आक्रान्त पार्दा के गर्ने


प्रोस्टेट के हो ?
शरीरका अन्तस्रावी ग्रन्थीहरूमध्ये प्रोस्टेट पनि एक प्रकारको ग्रन्थी नै हो । ओखरको साइज र आकारमा हुने यो ग्रन्थी पुरुषको प्रजनन क्रिया र अंगसँग सम्बन्धित हुन्छ । प्रोस्टेटले वीर्य उत्पादन गर्छ र वीर्यले नै यौन समागम हुने क्रममा स्खलन हुँदा शुक्रकीटहरूलाई साथै बाहिर निकाल्ने काम पनि गर्छ । प्रोस्टेट ग्रन्थी पुरुष मूत्रथैलीको ठीक तल र मूत्रनलीको वरिपरि रहेको हुन्छ ।


मूत्रनलीले शरीरले त्यागेको मूत्र निष्कासन गर्ने कार्य गर्छ । बढेको÷सुन्नी भएको प्रोस्टेट भन्नुको तात्पर्य उक्त ग्रन्थी आवश्यकभन्दा ठूलो भएको भन्ने बुझ्नुपर्छ । प्रोस्टेट बढ्ने क्रिया हरेक पुरुषको उमेर बढ्दै जाँदा हुने सामान्य प्रक्रिया भए पनि कहिलेकाहीँ त्यो प्रक्रिया ज्यादै जटिल बन्ने गर्छ । प्रोस्टेट ग्रन्थी सुन्निने वा बढ्ने प्रक्रिया भने लगभग लगभग सबै पुरुष जब तिनीहरूमा बुढ्यौलीले छुन्छ तब त्यो प्रक्रिया सुरु हुन थाल्छ ।

असामान्य रूपमा सुन्नी भएको वा बढेको प्रोस्टेटको समयमै उपचार नगरिएमा त्यसले मूत्र प्रवाहको प्राकृतिक गतिलाई समेत बन्द गरिदिने हुन्छ । असामान्य रूपमा बढेका प्रोस्टेटको समयमै उपचार नगरिएमा यसले मूत्र प्रवाहको प्राकृतिक गतिलाई बन्द गरिदिने हुँदा मूत्रथैलीको पत्थरी र मिर्गौलालाई नै क्षति पुर्‌याउने जस्ता जटिलता निम्त्याउन सक्छ । यद्यपि सामान्य रूपमा बढेको र सह्य लक्षणहरू रहेका बिरामीको उपचार भने तत्कालै नागरिँदा खासै ठूलो समस्या आउने गर्दैन । सुन्निएको प्रोस्टेटमा अर्बुदरोग (क्यान्सर) भने हुँदैन र प्रोस्टेटको क्यान्सर हुने जोखिम पनि बढाउँदैन ।

कारण
प्रोस्टेट ग्रन्थी बढ्नुको यकिन कारण हालसम्म अज्ञात छ । यद्यपि उमेर बढ्दै जाने कारण र बढ्दो उमेरका साथ अण्डकोषका कोषिकाहरूमा आउने परिवर्तनले प्रोस्टेट ग्रन्थी बढ्ने वा सुन्निने क्रियालाई बढावा दिएको हुनसक्छ ।

४० वर्ष उमेर पुगेका धेरै पुरुषहरूको प्रोस्टेट केही मात्रामा बढ्ने प्रक्रिया थोरै भए पनि ८० वर्ष पुगेका÷पुग्न लागेका पुरुषहरूको प्रोस्टेट बढ्ने प्रक्रिया भने ९० प्रतिशतभन्दा बढीमा हुने गरेको छ ।
किनकि कुनै पुरुषको यौवनावस्थामै कुनै कारणले (जस्तो कि अण्डकोषकै अर्बुदरोग) अण्डकोषहरू हटाइएको भएमा वृद्धावस्थामा समेत उक्त पुरुषको प्रोस्टेट ग्रन्थी नसुन्निने वा नबढ्ने पाइनुले कुनै न कुनै रूपमा अण्डकोषका कोषिकाहरू प्रोस्टेट ग्रन्थी बढाउनमा कारक रहेका होलान् भनी अनुमान लगाउन सकिन्छ । प्रोस्टेट ग्रन्थी बढेपछि वा सुन्निएपछि पनि सम्बन्धित व्यक्तिको अण्डकोषहरू शल्यक्रियात्मक विधिबाट हटाइएको खण्डमा बढेको वा सुन्निएको प्रोस्टेटको आकार घट्दै जानुले पनि उक्त कुराको पुष्टि गर्छ ।

प्रोस्टेट बढ्नुका केही तथ्य
– पुरुषको उमेर बढ्दै जाँदा अर्थात् उमेरले ४० वर्ष काटेपछि हरेक पुरुषको प्रोस्टेट ग्रन्थी बढ्दै जाने सम्भावना हुन्छ ।
– पुरुषहरू लामो जीवन जिउँछन् भने प्रोस्टेट बढ्ने प्रक्रिया सामान्य हुने गरेको तथ्य चिकित्सकहरूसमेत औंल्याउँछन् ।
– ४० वर्ष उमेर पुगेका धेरै पुरुषको प्रोस्टेट केही मात्रामा बढ्ने प्रक्रिया थोरै भए पनि ८० वर्ष पुगेका÷पुग्न लागेका पुरुषहरूको प्रोस्टेट बढ्ने प्रक्रिया भने ९० प्रतिशतभन्दा बढीमा हुने गरेको तथ्य उजागर भइसकेको छ ।
– प्रोस्टेट ग्रन्थी सुन्निनु वा बढ्नुका पछाडि सामान्य रूपमा कार्यरत अण्डकोषहरूका अलावा अन्य कुनै जोखिमका कारक तत्त्वहरू हालसम्म पाइएका छैनन् । वयस्क उमेरमा सक्रिय यौनजीवन बिताउने पुरुषहरूमा प्रोस्टेट सुन्निने वा बढ्ने समस्या कम हुन्छ भने आमप्रचलित धारणा भए पनि त्यसको वैज्ञानिक पुष्टि भने हुन बाँकी छ ।

सुन्निएको/बढेको प्रोस्टेटका लक्षण
प्रोस्टेट सुन्निएका वा बढेका पुरुषहरूमध्ये आधाभन्दा कममा मात्रै रोगका लक्षणहरू देखा पर्ने गर्छन् । केही प्रमुख लक्षण निम्न छन्ः
– पिसाब फेरिसकेपछि पिसाब थोपाथोपा गरी चुहिने,
– पिसाब फेर्न नै गाह्रो हुने/पिसाब रोकिने,
– मूत्रथैली पूर्ण रूपमा खाली नहुने वा थैलीमा पिसाब रहिरहने
– अनियन्त्रित मूत्र प्रवाह
– रातिको समयमा दुई वा सोभन्दा बढी पिसाब फेर्न उठ्नुपर्ने,
– पिसाब फेर्दा दुख्ने वा रगतसहितको पिसाब हुने,
– पिसाबको तीव्र बहाव विस्तारै वा ढिलो गरी मात्र हुने,
– पिसाब फेर्दा कन्नुपर्ने÷बल गर्नुपर्ने,
– अत्यधिक पिसाब लाग्ने वा अकस्मात् पिसाब फेर्न मन लाग्ने,
– पिसाबको बहाव कमजोर हुने आदि ।

आवश्यक जाँच

समस्या देखिन थालेपछि अनुभवी मूत्ररोग विशेषज्ञ÷मूत्ररोग शल्यचिकित्सकसँग परामर्श गर्नु अनिवार्य नै हुन्छ । ती विशेषज्ञले तपार्इंका रोगका लक्षणहरू, पारिवारिक इतिहास, प्रयोग भइरहेको औषधोपचार आदिबारे थाहा पाइसकेपश्चात् प्रोस्टेट ग्रन्थीबारे यकिन रूपमा थाहा पाउन मलाशयको डिजिटल परीक्षण गराउन सक्छन् । निम्नबमोजिमका थप परीक्षणसमेत तपाईंलाई आवश्यक पर्न सक्छन् ।

– पिसाबको बहावको गति,
– पिसाब फेरिसकेपछि तपाईंको मूत्रथैलीमा कति पिसाब बचेको छ भनी पत्ता लगाउने परीक्षण,
– पिसाव फेर्दा मूत्र थैलीमा पर्न जाने मूत्र प्रवाहको चाप अध्ययन गरिने परीक्षण,
– पिसाबमा कुनै किसिमको संक्रमण वा रगत भए÷नभएको पत्ता लगाउने जाँच,
– संक्रमण भए, त्यसको प्रकार पत्ता लगाउने पिसाबको कल्चर जाँच,
– प्रोस्टेट क्यान्सर भए÷नभएको वा हुनसक्ने जोखिमबारे थाहा पाउन गरिने पीएसए नामक रगत जाँच,
– सिस्टोस्कोपी जाँच, आदि ।

तपाईंमा रोगको वास्तविक अवस्था पत्ता लगाउन उपचारमा संलग्न मूत्ररोग विशेषज्ञले तपाईंलाई विविध प्रश्नावलीसमेत गर्न सक्नेछन् । ती प्रश्नावलीकै आधारमा रोगको जटिलताबारे अन्दाज गर्न चिकित्सकलाई मद्दत पुग्नेछ ।

उपचार

रोग लागिसकेपछि कस्तो प्रकृतिको उपचार गर्ने भन्ने तपाईंको रोगको अवस्था, लक्षण÷प्रकृति र गाम्भीर्यतामाथि भर पर्ने कुरा हुन् । रोगले तपाईंलाई कति दुःख दिइरहेको छ र प्रोस्टेटको रोगबाहेक तपाईंमा अन्य कुनै रोग पनि छन् या छैनन्, ती कुरालाई ध्यानमा राख्दै चिकित्सकले तपाईंलाई गर्नुपर्ने उपचारको पद्धति तय गर्नेछन् । उपचारका विकल्पहरूमा होशियारीपूर्वक ‘पर्ख र हेर' को सिद्धान्त, जीवनशैली परिवर्तन, परम्परागत औधोपचार वा शल्यक्रियामध्ये कुनै पनि हुन सक्छन् ।

यदि तपाईं ६० वर्ष पुगिसक्नुभएको छ भने तपाईंमा केही कडा लक्षण देखा पर्न सक्छन् । तर पनि धेरै पुरुष, जो प्रोस्टेट सुन्निने वा बढ्ने समस्याले आक्रान्त छन्, तिनमा खासै ठूला समस्या र लक्षण नदेखिन पनि सक्छन् । धेरै अवस्थामा आफैंले गरिने आफ्नो हेरचाहले पनि निकै सहज भएको रोगीहरू बताउँछन् । यद्यपि तपाईंको प्रोस्टेट बढेको वा सुन्निएको पत्ता लागिसकेपछि, तपाईंको उपचारमा फेरबदल गर्नुपर्ने/नपर्ने पत्ता लगाउन तपाईंले वार्षिक रूपमा कम्तीमा एकपटक प्रोस्टेटसम्बन्धी विस्तृत परीक्षण गराउनु बुद्धिमानी हुनेछ ।

आफैंले गर्ने हेरचाह

– जब तपाईंलाई पिसाब फेर्ने मन हुन्छ, तुरुन्तै शौचालय गइहाल्नुहोस्, पिसाब रोकेर नबस्नुहोस् । तपाईंको निश्चित समयको अन्तरालमा पिसाब फेर्ने बानी छ भने उक्त समयमा पिसाब लागे पनि नलागे पनि शौचालय गइहाल्ने बानी गर्नुहोस् ।
– विशेषतः रातको खाना खाइसकेपछि क्याफिनयुक्त पेय जस्तै कफी वा मद्यपानको बानी त्याग्नुहोस् ।
– एकैपटक प्रशस्त तरल पदार्थ पिउने बानी छोड्नुहोस् । दिनको समयमा निश्चित समयको अन्तरालमा थोरैथोरै गरी पानी पिउने बानी गर्नुहोस् । राति सुत्नुभन्दा कम्तीमा २ घन्टा अगाडिदेखि कुनै पनि तरल पदार्थ नपिउनुहोस् ।
– तपाईंलाई रुघा लागेमा, पिनास भएमा वा नाक बन्द भएमा चिकित्सकको सल्लाह सुझावबिना बजारमा पाइने रुघाखोकीका औषधि, नाक खोल्ने औषधि आदिको जथाभावी प्रयोग नगर्नुहोस् । किनकि त्यस्ता औषधिले तपाईंको बढेको प्रोस्टेट ग्रन्थीलाई थप बढाउन वा सुन्निन मद्दत गर्छन् ।
– नियमित शारीरिक व्यायाम गर्दै आफ्नो शरीर न्यानो राख्ने प्रयत्न गरौं । चिसो ÷ ठन्डा मौसम वा शारीरिक सक्रियता नहुँदा रोगका लक्षण बढ्न सक्छन् ।
– तल्ला पेटका मांसपेशी मजबुत पार्ने व्यायाम (केगेल ब्यायाम) सिक्नुहोस् र नियमित त्यसलाई अँगाल्ने गर्नुहास् ।
– तनाव सबै रोगको जननी हो, यसलाई बुझ्नुहोस् र तनावमुक्त हुने बाटाहरू अपनाउनुहोस् । किनकि घबराहट÷निराशापन, तनाव आदिले तारन्तार पिसाब गराउन सक्छन् ।

औषधि

मूत्रथैलीको मुख तथा प्रोस्टेट ग्रन्थीलाई शिथिल पार्ने खालका औषधिले मूत्र त्याग क्रियालाई सहज पार्ने हुँदा त्यस्ता औषधिको प्रयोगले रोगीलाई केही आराम भएको महसुस हुन्छ । केही त्यस्ता स्टेरोइड जसले प्रोस्टेटले उत्पादन गर्ने हर्मोनको मात्राका साथै प्रोस्टेटको आकारसमेत घटाउन मद्दत गर्ने र मूत्र प्रवाहलाई सहज पार्ने हुँदा त्यस्ता औषधिको ३–६ महिनाको प्रयोगले स्थिति सहज पार्ने चिकित्सकहरू बताउँछन् । यद्यपि तिनले यौनइच्छा र यौनक्षमता भने घटाउन सक्छन् ।
गाउँघरमा बेलाबेलामा सिस्नो र ढिँडो खाने चलन त्यत्तिकै राखिएको रहेनछ । सिस्नोको औषधीय गुण अत्यधिक भएको पुष्टि हुँदैछ । सिस्नोको जरा, बोट, पात र फूल सबै औषधीय गुणले युक्त हुँदा रहेछन् ।

जटिल र दीर्घ रोगहरूमा एन्टिबायोटिक्ससमेत दिइन्छ । त्यस्तै प्रोस्टेटसम्बन्धी समस्याबाट जोगिन फर्सीको बियाँ, सिस्नोको साग, सिस्नोको पीठोको परिकार जस्ता प्राकृतिक आहार पनि लाभप्रद मानिन्छन् ।

फर्सीको बियाँ: फर्सीको बियाँको मीठो अचार मात्रै बन्ने होइन । त्यसले औषधिको पनि काम गर्छ । हाम्रा रेष्टुराँहरूमा मःम सँग खाइने चट्नीलाई स्वादिष्ट पार्न फर्सीको बियाँलाई भुटेर पाउडर पारी मिसाइन्छ । उक्त वियाँमा वनस्पतिजन्य स्टेरोइड पाइने हुँदा उक्त तत्वले प्रोस्टेट ग्रन्थीको आकार र साइज घटाउन मद्दत गर्दछ भन्ने वैज्ञानिक विश्वास छ । फर्सीको बियाँ मूत्रबद्र्धक प्रकृतिको हुने, त्यसमा ओमेगा – ३ फ्याट्टी एसिड र जिङ्कजस्ता खनिजतत्व पाइने आदिका कारण प्रोस्टेट ग्रन्थीको काममा सहयोग पुग्ने र पिसावको बहावमा सहजता थपिने प्रष्ट हुन्छ ।

गाउँ घरमा बेलाबेलामा सिस्नो र ढिडो खाने चलन त्यत्तिकै राखिएको रहेनछ । सिस्नोको औषधीय गुण अत्यधिक भएको पुष्टि हुँदैछ । सिस्नोको जरा, बोट, पात र फूल सबै औषधीय गुणले युक्त हुँदारहेछन् । सिस्नोमा पाइने एक प्रकारको रसायन (वायोएक्टिभ फाइटोकेमिकल) प्रोस्टेटलाई समस्यारहितरुपमा काम गराउन र पिसाबको धारा–प्रवाह कायम राख्न महत्वपूर्ण हुँदोरहेछ । प्रोस्टेट ग्रन्थी सुन्निएका बिरामीले नियमित रुपमा सिस्नोको पातको चिया दैनिक २–३ पटक पिउँदा पनि निकै लाभप्रद हुनसक्छ ।

शल्यक्रियात्मक उपचार

यदि तपाईंमा प्रोस्टेट बढेकै कारण निम्न समस्याहरू भएमा शल्यक्रियात्मक उपचारको आवश्यकता पर्नसक्छ ।
– पिसाबको अनियन्त्रित प्रवाह,
–पिसाबमा बारम्बार रगत देखा पर्ने समस्या,
–पिसाव फेर्दा मूत्रथैली पूरा खाली नहुने समस्या,
–मूत्र प्रणालीमा बारम्बार सङ्क्रम भइरहने समस्या,
–मिर्गौलाको कार्य क्षमतामा ह्रास आउने समस्या,
– मूत्रथैलीमा पत्थरी हुने समस्या,
–औषधिले निको नहुने प्रकृतिका अन्य कष्टप्रद लक्षणहरू

बिरामीहरूलाई कस्तो खाले शल्यक्रियात्मक उपचार अपनाउने भन्ने कुरा सुन्निएको/बढेको प्रोस्टेटको आकार/प्रकार, प्रकृति र सम्बन्धित लक्षणहरूमा भरपर्ने कुरा हुन् । समस्या भएका धेरैजसो वयष्क पुरुषहरूमा शल्यक्रियापश्चात् निश्चितरुपमा पिसाबको बहावको गतिमा सुधार आएको र रोगका लक्षणहरू कम हुँदै गएको तथ्य नर्भिकको एउटा तथ्याङ्कले देखाएको छ ।

प्रोस्टेट शल्यक्रिया गर्ने विविध विधिहरू विद्यमान भए पनि हाल आएर लेजरका माध्यमबाट विना चिरफार गरिने विधि नर्भिकमा धेरै प्रचलित छ । त्यसमा पनि ‘होल्मियम लेजर' जस्तो युरोपेलीस्तरको लेजरबाट शल्यक्रिया गराउँदा बिरामीलाई कम पीडा, कम समयको हस्पिटल बसाई (सामान्यतया २४ घण्टाभित्रै घर फर्किन सकिने), चाढै निको हुने, रगतको जोहो गर्नुनपर्ने र सङ्क्रमणको जोखिम पनि अत्यन्तै न्यून हुने हुँदा जो कोही पनि यो विधि अपनाउन चाहन्छ ।

सामान्यतया ५०–६० ग्राम तौल भएको प्रोस्टेटको शल्यक्रिया लेजर माध्यमबाट गरिँदै आएको पाइए पनि हालसम्म छिमेकी मुलुक भारतमा ४५० ग्राम तौलको प्रोस्टेटको लेजर विधिबाट शल्यक्रिया गरिएको इतिहास छ । नेपालमा नर्भिकमै केही महिना अघि पूर्व झापा, विर्तामोड निवासी एक व्यापारीको ४०० ग्राम तौलको असामान्य प्रोस्टेटको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको थियो । ‘जहाँ फाइदा छ, त्यहाँ बेफाइदा पनि हुन्छ नै' लेजर विधिबाट गरिने शल्यक्रियात्मक उपचारका धेरै फाइदाहरू भएतापनि त्यसका केही बेफाइदा पनि छन् ।

यस विधिबाट गरिने शल्यक्रियाको ५ देखि १० वर्षपछि पुनः शल्यक्रिया गर्नुपर्ने बाध्यता आइपर्नसक्छ । यद्यपि यो विधिले यौन दुर्बलता बढाउने सम्भावना कम हुने हुँदा नव जवानहरूको लागि, उमेर बढी भएका पुरुषका लागि, अनियन्त्रित मधुमेह, कलेजोसम्बन्धी रोग, मद्यपानका अम्मली, जटिल खालका फोक्सो, मिर्गौला वा मुटुको रोग भएका व्यक्ति तथा रगत पातलो पार्ने औषधि सेवन गरिरहेका व्यक्तिका लागि उपयुक्त हुने बताउँछन् । नर्भिकका मूत्रप्रणाली रोग शल्यचिकित्सक डा. भरत बहादुर भण्डारी ।

सामान्य प्रोस्टेट बढ्ने समस्याका अलावा प्रोस्टेटमा हुने असामान्य ट्यूमर, अर्बुद रोग आदिमा लेजर विधि उपयुक्त रहने नर्भिकका अर्का मूत्ररोग सम्बन्धी अर्बुदरोग विशेषज्ञ डा. रोविन जोशी बताउँछन् ।

प्रोस्टेट सुन्निँदा÷बढ्दा गरिने अन्य शल्यक्रियात्मक विधिहरूमा टर्प मूत्रनलीबाट पातलो नली छिराएर बढेको÷सुन्निएको प्रोस्टेटका भागहरू टुक्रा–टुक्रा पारेर हटाइने विधिे गरिने शल्यक्रिया बढी नै प्रचलित रहेको छ ।

प्रोस्टेक्टोमीः

प्रोस्टेट ग्रन्थीको भित्री भाग हटाउन गरिने यो एक किसिमको सामान्य विधि हो । बिरामीको पेटको तल्लो भागमा सानो प्वाल पारेर यो शल्यक्रिया गरिन्छ । प्रोस्टेट ग्रन्थी एकदमै ठूलो भएमा यस विधि अपनाउने सल्लाह दिन्छन् ।

- आरपी मैनाली , अन्नपूर्ण पोस्टबाट
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget