Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आयोडिन नपुग्दा के हुन्छ ?



आयोडिन शरीरलाई कम मात्रामा चाहिन्छ तर शरीरको लागि अत्यावश्यक तत्व पनि हो यो । शरीरमा कार्बोहाइड्रेटको मेटाबोलिज्मबाट शक्ति प्रदान गर्नको लागि थाइरोक्सिन भन्ने हर्मोनको आवश्यकता पर्छ । यो थाइरोक्सिन हर्मोन थाइरोइड ग्रन्थीबाट निस्किन्छ । थाइराइड ग्रन्थीलाई थाइरोक्सिन हर्मोन निकाल्न आयोडिनको आवश्यकता हुन्छ ।

शरीरमा कुल आयोडिनको मात्रा ५० मिलिग्राम हुन्छ । शरीरको कुल आयोडिनको आधा भाग थाइरोइड ग्रन्थीमा र बाँंकी आधा भाग रगत र शरीरका अरु विभिन्न तरल पदार्थहरुमा पाइन्छ ।

आयोडिनको मुख्य स्रोत समुद्री माछा र समुद्रमा पाइने अरु खाद्यवस्तुहरु हुन् । आयोडिन सबै खाद्यवस्तुहरुमा थोरै मात्रामा पाइन्छ । तर यो कुन अनुपातमा पाइन्छ भन्ने कुरा ती खाद्यवस्तु उब्जाइएको माटोमा निर्भर गर्छ । साधारणतया पहाडी इलाकाको माटोमा कम आयोडिन हुन्छ । यस्ता स्थानहरुमा बस्नेहरुले आयोडिन मिसाएको नुन प्रयोग गर्नुपर्छ ।

आयोडिनको शरीरमा ज्यादै कमी हुन गयो भने गलगाँड निस्कन्छ । नेपाल समुद्रबाट टाढा भएकोले यहाँको माटो र पानीमा आयोडिनको मात्रा निकै कम पाइन्छ । नेपालका पहाडी भेगमा तिब्बततिरबाट ल्याइएको नुन प्रयोग गरिन्छ । यस्तो नुनमा आयोडिन नै हुँदैन । त्यसैले नेपालका कुनै÷कुनै पहाडी इलाका जस्तै( रसुवा, हुम्ला, जुम्ला, बाग्लुङ, त्रिशूली, सोलुखुम्बु आदि गाउँका धेरै प्रतिशत मानिसमा गलगाँडको समस्या हुन्छ । कैयौं नेपालीहरुले गाँडलाई रोग नठानेर शरीरको एक विकृति ठान्छन् ।

शरीरलाई आयोडिनको दैनिक आवश्यक मात्रा एकदमै थोरै हुन्छ । एक वयष्क व्यक्तिलाई प्रतिदिन ०.१५ देखि ०.२ मिलिग्राम आयोडिन चाहिन्छ भने काखका बच्चा र साना केटाकेटीलाई ०.५ देखि ०.१ मिलिग्राम दैनिक भए पुग्छ ।

हामीले दैनिक सन्तुलित आहार खाएको खण्डमा आयोडिनको आवश्यकता सजिलैसित पूर्ति हुन्छ, तर पानी र माटोमा आयोडिन कम भएको पहाडी क्षेत्रहरुमा भने खानाबाट मात्र पूर्ति हुन सम्भव हुँदैन । यस्तो अवस्थामा आयोडाइज्ड नुन खानुपर्छ । आयोडिनको धेरै लामो अवधिसम्म कमी भइरह्यो भने अन्ततः गलगाँड निस्कन्छ ।

घाँटीमा थाइरोइड भन्ने ग्रन्थी हुन्छ । यो ग्रन्थीले शक्ति परिचालन गर्न थाइरोक्सिन हर्मोन पैदा गर्छ । केटाकेटीको शारीरिक वृद्धि र विकासको लागि थाइराक्सिनको ज्यादै आवश्यकता हुन्छ । कुनै किसिमको विकृति नभई राम्रो बच्चा जन्माउन र आमाको दुध आउनको लागि पनि यो हर्मोनको ठूलो महत्व हुन्छ । हाम्रो दैनिक आहारमा आयोडिनको कमी हुंदै गयो भने थाइरोक्सिन हर्माेन सही ढंगबाट उत्पादन हुन सक्दैन, जसले गर्दा रगतमा यसको परिमाण कम हुँदै जान्छ । अनि यो हर्मोन बढी पैदा गर्नका लागि थाइराइड ग्रन्थीले धेरै परिश्रम गर्नुपर्छ, फलस्वरुप ग्रन्थी फुलेर आउँछ, यसलाई गलगाँड भनिन्छ ।

गलगाँड आउँदा २५ ग्राम तौल भएको थाइराइड ग्रन्थी फुलेर २०० देखि ५०० ग्रामसम्मको हुन जान्छ । सुरुमा नै यसको उपचार गरेमा यो ग्रन्थी सुकेर जान्छ, तर उपचार गर्न ढिला भयो भने पछि औषधोपचार गरे तापनि केही फाइदा हुँदैन । गलगाँड जस्तोको त्यस्तै रहन्छ ।

साना केटाकेटीहरुमा आयोडिनको धेरै कमी भयो भने शारीरिक, मानसिक विकासमा रोकावट आउँछ । दिमागको विकास यस्तो किसिमबाट रोकिन्छ कि पछि आयोडिन प्रशस्त दिए पनि सुधार आउन सक्दैन । यो अवस्थालाई क्रिटिनियजम भनिन्छ ।

घाँटी फुलेर आउनु नै आयोडिनको कमीको सुरुको लक्षण हो । गलगाँड आउँदैमा शरीरका अरु काममा खास फरक नपर्न पनि सक्छ । खास गरेर किशोरावस्थाका युवायुवती र गर्भवती महिलामा गलगाँड देखापर्छ । लोग्ने मानिसभन्दा प्रायः महिला गलगाँडबाट बढी पीडित हुन्छन् ।

आयोडिनको प्रशस्त उपभोग नै गलगाँडको उपचार हो । खाद्यवस्तुमा आयोडिनको मात्रा कमी हुने भएकोले गलगाँडका रोगीलाई डाक्टरको सल्लाहअनुसार आयोडिनको सुई पनि दिन सकिन्छ । यसो गरेमा गलगाँड सानो हुँदै जान्छ तर गलगाँडमा नोडुल बनिसकेको भए उपचार गरे पनि पूरै भागमा ठीक हुनसक्दैन । यसले गलगाँड आउनुभन्दा पहिला नै होसियार हुनु बुद्धिमानी हो ।

गलगाँडको रोकथामको लागि सबैभन्दा सजिलो उपाय आयोडिनयुक्त नुनको नियमित प्रयोग नै हो । १ सय किलो साधारण नुनमा १ ग्राम सोडियम आयोडेट मिसायो भने आयोडाइज्ड नुन तयार हुन्छ । अर्काे उपायको रुपमा पाँचदेखि ४५ वर्र्षम्मका पहाडी इलाकामा बस्ने सबै मानिसहरुले आयोडिनको सुई लगाउनु हो । हाम्रो देशमा पनि आजकाल आयोडिन हालेको आयो नुन पाइन्छ । जनस्वास्थ्य विभागद्वारा पहाडी क्षेत्रमा यो नुन वितरण गर्नुको साथै आयोडिनको सुई लगाउने व्यवस्था पनि भइरहेको छ ।

- मधु शर्मा पौडेल, डाइटिसियन , स्वास्थ्य खबर पत्रिकाबाट
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget