
उनले असन्तुष्ट मधेसी मोर्चालाई सम्बोधन गर्न संविधानमा बाँकी विषयमा पनि संशोधन गरेर अगाडि बढ्न सकिने भन्दै सधैं राजनीति अलमलमै मुलुकलाई राख्न नहुने बताए । ‘सिमांकन सहितको सबै विषयमा हामी उदार छौं,’ उनले भने ।
राजनीति गर्ने मानिसहरुका बारेमा समाजमा बढेको निन्दाप्रति उनले चिन्ता व्यक्त गरे । ‘राजनीति निन्दित भएको देख्दा कहिले काहीँ आत्महत्या गर्न मन लाग्छ,’ उनले भने ‘राजनीतिप्रति विश्वास जगाउनु र सम्मानित गराउनु मेरो उद्देश्य हो ।’ उनले राजनीति गर्ने व्यक्तिप्रति जनताको विश्वार नरहे मुलुक संकटमा पर्ने उल्लेख गरे ।
उदघाटन समारोहमा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले देशका अगाडि देखिएका सम्पूर्ण चुनौतिको सामना कांग्रेसले गर्ने बताए । उनले सिमांकन विवाद, समावेशी समानुपति प्रतिनिधित्वका सवाल, संविधान कार्यान्वयन देखि भारतसँगको चिसोपन हटाउन कांग्रेसले नेतृत्व लिने दावी गरे ।
उनले कुनै पनि बहानामा कसैले लोकतान्त्रिक शक्ति नखोसोस र देशमा एकता बनाएर बढ्ने जिम्मेवारी पनि कांग्रेसमाथि रहेको उनले बताए ।
उदघाटन समारोहमा एमाले अध्यक्षा एंव प्रधानमन्त्री केपीशर्मा अोली, एमाअोवादी अध्यक्ष पुष्पकमल दाहाल, फोरम लाेकतान्त्रिकका अध्यक्षा विजय गच्छदार सहितका नेताहरु र कांग्रेसबाट महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला सहित कोषाध्यक्ष चित्रलेखा यादवले मनतव्य राखेका थिए ।
कार्यवाहक सभापति पौडेलले बिहीबार उदघाटन गरेको पार्टीको १३ औं महाधिवेशनको समारोहमा भारतीय नेताहरु भगतसिंह काेसियारी, नितिश कुमार सहित बंगलादेश, मंगोलियाबाट अाएका राजनीतिक दलका प्रतिनिधिले बोलेका थिए । महाधिवेशनमा भाग लिन देशभरबाट कांग्रेस कार्यकर्ताहरु काठमाडौंमा भेला भएका छन् ।
Post a Comment