अघिल्लो संविधानसभाको चुनावमा एउटा चुनाव चिन्हले धेरै काठमाडौंबासीको ध्यानाकर्षण गरेको थियो । चुनावचिन्ह थियो-कुकुर ।
‘भोट कसलाई कुकुरलाई’ भन्दै हिँडेका युवाहरु समाजलाई निशुल्क मनोरञ्जन दिन हिँडेका थिएनन्, तर त्यसबेला उनीहरु फगत मनोरञ्जनका पात्र भइदिए । उनीहरुमाथि अनेक मजाक र खिसिट्यूरी भए । कोही उनीहरुका सामुन्नेमै हाँस्थे, कोही घर गएर फुर्सदमा हाँस्थे ।

वाध्यता के थियो त ? उनले पछि बताउलान् ।
अमेरिकामा भिक्षु बन्ने प्रयास
बुढानीलकण्ठ स्कुलबाट ए लेभल सकेपछि थापाले छात्रवृत्तिमा अमेरिका गएर पढ्ने मौका पाए । कलेजमा जानासाथै दुई हजार डलरको कम्प्युटर हातमा पर्यो । त्यो कम्प्युटर भन्ने जिनिस पहिलोपटक देख्दा उनलाई उदेक लागेको थियो । तर, यही कम्प्युटर खेलाउँदै अन्ततः उनी आइटीमा पोख्त भएर निस्किए ।
त्यसो त अमेरिकामा उनले कम्प्युटर मात्रै चलाएनन्, पहिलोपटक गीता पनि त्यहीँ पढे ।
‘म जीवनमा नयाँ-नयाँ एक्सपेरिमेन्ट गर्न चाहन्थेँ,’ अमेरिकाको प्रारम्भिक बसाइ सम्झिँदै उज्ज्वलले भने, ‘त्यहाँ गएपछि मैले पढाइमै एक्सपेरिमेन्ट गरेँ ।’
पहिलो सेमेस्टरमा जापानिज ल्याङ्वेज, फिजिक्स, जेनेटिक्स र यूरोपियन हिस्ट्री लिएर पढेका उनले दोस्रो सेमेस्टरमा अरु नै विषय लिए ।
अमेरिका बस्दाखेरि एकपटक उनलाई भौतिक जीवनबाट साह्रै विरक्त लाग्यो । यति विरक्त लाग्यो कि भिक्षु बन्न भनेर निवास छाडेर हिँडे ।
‘मलाई यो जिन्दगी के हो र हामी मानव को हौं भन्ने रहस्यको खोजी गर्ने धुन सवार भएको थियो,’ उनी भन्छन् । तर, एक्ला, असहाय उज्ववले यति ठूलो रहस्य पत्ता लगाउन के सक्थे ? छेउछाउसम्म पनि पुग्न सकेनन् । ६ महिनाको एकान्तवासपछि फर्केर उनले बुद्धिज्ममा आफ्नो अन्तिम थेसीस लेखे ।
फर्किँदा कट्टु र मोजा !
अमेरिकाबाट फर्किँदा उज्वलका हातमा ठूलै सुटकेस थियो । ५ वर्षपछि आएको छोराले कोशेली टन्नै बोकेर आयो भन्ने सोचेका उनका बुवाआमाले नराम्ररी धोका खाए । उनको सुटकेस खोतल्दा एउटा २३ इन्चको सीआरटी मनिटर र म्याकको कम्प्युटरबाहेक उनका कट्टु र मोजा मात्रै भेटिए ।
उज्ज्वल भन्छन्, ‘बुवा आमाको त आशा थियो होला, अमेरिकाबाट फर्केको छोराले मनग्गे पैसा ल्यायो, अब परिवारलाई पालेर बस्ला । तर, न मैले पैसा कमाएको थिएँ, न परिवार पालेर बस्ने सोच नै थियो ।’
के थियो त योजना ? फेरि रहस्य खोज्न हिँड्ने ? त्यो पनि होइन ।
नेपाल फर्केको एक वर्ष उनी बरालिएरै बसे । उनका सकमक्षी साथीहरु ठूला विदेशी कम्पनीमा जागिर खाइरहेका बेला उनीचाहिँ द्वन्द्व व्यवस्थापनको तालिम लिन थाले ।
माओवादी जनयुद्ध उत्कर्षमा रहेका बेला उनी देशका विभिन्न भागमा पुगेर मानिसहरुलाई शान्तिको प्रवचन दिन्थे ।
सुत्ने कोठामै खुल्यो कम्पनी
प्रवचन दिएरमात्रै गुजारा चल्ने कुरा त भएन । उनलाई लाग्यो, सुरुमा त आत्मनिर्भर बन्नुपर्ने रहेछ । थप केही नसोची एउटा आइटी कम्पनी दर्ता गरे । अमेरिकाबाट ल्याएका दुई कम्प्युटर आफ्नै सुत्ने कोठामा राखे र अफिस उद्घाटन गरे । एक कर्मचारी (आफैं) बाट सुरु भएको अफिस पछि ३५ जनासम्म कर्मचारी थेग्ने भयो ।
‘अब मलाई लाग्यो, म एकजनाले ३५ जनालाई रोजगारी सिर्जना गर्न सक्छु भने देशमा रोजगारी नपाएर भड्किरहेका युवाहरु सबै स्वरोजगारतर्फ उन्मुख भए हुने रहेछ नि,’ उनी भन्छन् ।
आफ्नो आइटी कम्पनीबाट उत्पादन भएकै जनशक्तिले पछि ३० वटा कम्पनी खोलेको उज्वलको दाबी छ । आफ्नै यस्तो अग्रसरतापछि देशमा आइटीले ठूलो उद्योगको रुप लिएको उनको अर्को दाबी छ ।
त्यसपछि आइटी सेक्टरमै काम गर्ने केही साथीहरु भेला गरे उनले । उनीहरुसित चियागफको क्रममा आइटी उद्यमीहरुको संगठन निर्माणको कुरा अघि बढ्यो ।
‘सानो चियागफबाट सुरु भएको अभियानले आज हामी यो स्थानमा आइपुगेका छौं,’ उनले भने ।
कुन स्थानमा ?
धुम्बाराही ! जहाँ विवेकशील नेपाली पार्टीको हेडक्वार्टर छ, (जहाँ, हँसिला युवा-युवतीहरु हस्याङ फस्याङ गरिरहेको तपाईं पाउनुहुनेछ) ।
हेडक्वार्टर (जहाँभित्र पस्दा कुनै मिडिया हाउसभित्र पसेको भान हुन्छ) को गेस्ट रुम (जहाँ एउटा गोलो टेबुल छ, जसमा चार थान ल्यापटप लडिरहेका छन्) मा कालोटोपी खोलेर (जहाँ भित्रको मुडुलो टाउको तपाईंले एउटा नक्साबिहीन ग्लोबझैं देख्नुहुनेछ) पंक्तिकारसित गफ चुटिरहेका छन् मिस्टर थापा ।
जब हिलोमा पसे
मिस्टर थापाले आफ्ना साथीभाइ जुटाएर बनाएको समूहले पछि ‘आन्टरप्रिनर्स फर नेपाल’ नामक संगठनको रुप लियो । यो संगठनको फेसबुक पेजमा हाल ४२ हजार जना आवद्ध छन्, जहाँ उद्यमशीलतासित सम्वन्धित प्रश्नोत्तरहरु मात्रै हुन्छन् । नो पोलिटिक्स एट अल ।

प्रत्येक महिनाको अन्तिम बिहीबार संगठनको भेला बोलाइन्छ, जहाँ एकजना सफल उद्यमीलाई डाकेर अन्तरक्रिया गरिन्छ । यो क्रम ६६ औं महिनादेखि चल्दै आएको छ । खै किन हो, थापा यसलाई ‘गुरिल्ला मुभमेन्ट’ को संज्ञा दिन्छन् ।
यसरी गुरिल्ला मुभमेन्ट चलिरहँदा फेरि एउटा चियागफमा के सल्लाह भयो भने, यसरी मात्रै हुँदैन । थापासहितका युवाहरुले सल्लाह गरे, उद्यमको वातावरण राम्रो बनाउन देशको राजनीति सङ्लो हुनुपर्छ, देशको राजनीति संङ्लो बनाउन युवाहरु राजनीतिमा होमिनुपर्छ । र, युवाहरु राजनीतिमा होमिनका लागि उनीहरु उद्यमशील हुनुपर्छ ।
जो, युवाहरु उद्यममा हुन्छन्, उनीहरु आत्मनिर्भर हुन्छन् । र, जो आत्मनिर्भर हुन्छन् उनीहरु राजनीतिमा लागे भने भ्रष्टाचारमा लिप्त हुँदैनन् । जब राजनीति भ्रष्टाचारमुक्त हुन्छ, तब बल्ल देश बन्छ भन्ने निस्कर्ष निकाले उनीहरुले । त्यसपछि उद्यमी युवाहरु ‘हिलोमा पस्न’ तयार भए ।
१४ अञ्चलबाट माटो, पानी र सपना
राजनीति त गर्ने, तर उद्यममा पोख्त यी युवाहरुका लागि राजनीति नौलो विषय थियो । यतिबेलासम्म उनीहरुले कम्तिमा समूहको नाम चाहिँ जुराएका थिए, विवेकशील नेपाली मञ्च भनेर ।
तर, न कतै दर्ता, न कुनै वैधानिकता थियो । तर, के एजेण्डा तय गर्ने, कसरी संगठन निर्माण गर्ने र कसरी समाजमा हस्तक्षेप गर्ने भन्ने कुनै सोच थिएन । त्यसैले उनीहरुले एउटा योजना बनाए, सुरुमा देशभरिका जनताको भावना बुझ्ने र त्यसैका आधारमा एजेण्डा तय गर्ने ।
संगठनमा रहेका युवाहरु १४ वटा अञ्चलमा बाँडिए । उनीहरुले प्रत्येक अञ्चलबाट सर्वसाधारणलाई सोधे, तपाईंको सपना के हो ? संकलित सपनाहरु बोकेर पैदल हिँडेर लुम्बिनीमा जम्मा भए । उनीहरुले आ-आफ्ना अञ्चलबाट पानी र माटो पनि ल्याएका थिए ।
लुम्बिनीमा जम्मा भएपछि सबै जिल्लाबाट संकलन गरिएका सपनालाई वाचन गरियो । निस्कर्ष के निस्कियो भन्दा जनताको सपना समृद्ध नेपाल । समृद्धि अर्थात् सम्पन्नता र खुशी मिश्रित माहौल । उनीहरुले लुम्बिनीमा १४ वटा बिरुवा रोपे, जहाँ १४ अञ्चलबाट ल्याइएको माटो र पानी हालियो । सपना खल्तीमा बोकेर उनीहरु काठमाडौं आए ।
१० हजार हस्ताक्षर जुटाउन पहाड
त्यतिबेला डा. बाबुराम भट्टराईको सरकारले संविधानसभा भंग गरेर अर्को चुनाव घोषणा गरपछि उनीहरु फेरि भेला भए । भेलाको विषय थियो, अब के गर्ने ? राजनीतिमा त होमिने, तर कसरी भन्ने सन्दर्भमा १३ पटकसम्म भेला बसेर अबको चुनावमा भाग लिने भन्ने निर्णय भयो ।
थापा भन्छन्, ‘संविधानसभा भंग भएपछि हामीले देशले नयाँ नेतृत्व मागिरहेको महसुस गर्यौं । तर, हाम्रो शक्ति यति थिएन कि तत्कालै राज्यसत्तामा हस्तक्षेप गर्न सकौं । सुरुमा हामीलाई परीक्षामा उत्रिनु थियो । त्यसैले चुनावमा भाग लिने निर्णय गरियो ।’
विवेकशील नेपाली मञ्च कतै पनि दर्ता थिएन । उनीहरुले दल दर्ता गर्ने निर्णय गरे पनि यो त्यति सजिलो भएन । निर्धारित समयभित्र दल दर्ताका लागि १० हजारको हस्ताक्षर जुटाउनै सकेनन् ।
‘हामीले पनि अरुले जसरी फर्जी काम गर्न चाहेको भए तत्कालै भइहाल्थ्यो । तर, १० हजार असली हस्ताक्षर र आवश्यक कागजात जुटाउन थालेपछि हामीले भ्याएनौं,’ थापा भन्छन् ।
चुनाव चिन्ह कुकुर
पार्टी दर्ताबिनै चुनाव लड्न तयार भए उनीहरु । आन्तरिक रुपमा भोटिङ गरेर चारजना उम्मेदवारहरु छानिए । ती उम्मेदवारहरुमध्ये दुई जना २५ वर्षका र दुई जना ३६ वर्षका थिए ।
स्वतन्त्ररुपमा उम्मेदवारी दिँदा समस्या आइपर्यो चुनावचिन्हको । एउटै संगठनको भनेर जनाउन चारैजना एउटै चुनावचिन्हमा लड्नु जरुरी थियो । तर, निर्वाचन आयोगमा स्वतन्त्र उम्मेदवारले आफूले मागेकै चुनावचिन्ह पाइन्छ भन्ने ग्यारेन्टी हुँदैन, किनकि राम्रो चुनावचिन्हमा धेरैको आँखा परेको हुन्छ । एकभन्दा बढीले एउटै चुनाव चिन्ह माग गर्दा आयोगले चिठ्ठाबाट निर्णय गर्छ ।
त्यसैले उनीहरुले उपाय निकाले, सबैभन्दा खराब चुनावचिन्ह माग्ने । यस्तो चुनावचिन्ह माग्ने जुन अरु कसैले नमागुन् । कुकुर । यही चुनाव चिन्ह माग्ने निर्णय गरे । नभन्दै चारै उम्मेदवारले पाए कुकुर चुनावचिन्ह ।
तर, चुनाव प्रचारका क्रममा चुनावचिन्ह नै उनीहरुलाई भारी भइदियो । के गरी भन्ने कुकुरलाई भोट दिनुस् । उनीहरुले कन्दै उपाय निकाले, कुकुरजस्तै पहरेदार छौं हामी, कुकरजस्तै इमानदार छौं हामी । कतिले उडाए, कतिले होच्याए कुनै सीमा छैन ।
‘हामीले आफ्नो एजेण्डाको त प्रचार नै गर्न पाएनौं, चुनाव चिन्हको बारेमा बताउँदै हैरान हुन्थ्यौं,’ थापा सम्झिन्छन् ।
काठमाडौंको क्षेत्र नम्बर १, ४, ५ र ८ मा चुनाव लडेका स्वतन्त्र उम्मेदवारहरु अरुको भोट काट्नमै सीमित भए । ४ नम्बरबाट उठेका थापाले ल्याए एक हजार एक सय ६३ भोट ।
‘मैले ल्याएको भोट अंकमा सानो भए पनि सम्मानजनक थियो,’ थापा भन्छन्, ‘किनकि हाम्रो राजनीतिक पृष्ठभूमि जीरो थियो । जीरोबाटै त्यति भोट बटुल्नु ठूलै कुरा लाग्यो ।’
चुनावपछि भने उनीहरुले दल दर्ता गरेका छन्, र चुनाव चिन्ह लिएका छन्, हाँसिरहेको अनुहार । यो पार्टीको अहिले ४२ जिल्ला र २० भन्दा बढी देशमा प्रवासी संगठन विस्तार भएको छ । दर्ता गरेका पार्टी सदस्य ६ हजार छन् ।
यो पार्टी देश-विदेशका समर्थक तथा शुभेच्छुकहरुबाट प्राप्त आर्थिक सहयोग बाट चलेको छ । अहिलेसम्म आएको सम्पूर्ण सहयोग र खर्चको विवरण वेवसाइटमा अद्यावधिक गरिएको छ । पार्टीमा आवद्ध धेरैजना पार्टटाइमर छन् । सबैको बेग्लै पेशा भएकाले पार्टीले नेतालाई पाल्नुपर्ने अवस्था नभएको थापाको भनाइ छ ।
‘हामी न्यूनतम खर्चमा चलेका छौं,’ उनले भने, ‘हामीलाई आएको एक-एक रुपैयाँको हिसाब पारदर्शी किसिमले वेवसाइटमा राखेका छौं । आर्थिक मामलामा हामीलाई कसैले औंला उठाउन सक्दैनन् ।’
भूकम्पमा चम्किए ‘विवेकशील युवा’
माघ ८ मा नमूना संविधान जारी गरेको देखि रमेश खरेलको समर्थनमा जुलुस निकालेका घटनाहरुले विवेकशील पार्टीलाई थोरबहुत चर्चा दिइरहेको थियो । तर, यस पार्टीले सबैभन्दा ठूलो ‘माइलेज’ पायो वैशाख १२ को भूकम्पमा ।
भूकम्पमा पार्टीको सक्रियतालाई यसरी व्याख्या गर्छन् थापाः
भूकम्प हुनुभन्दा महिनौं अगाडि हामीले विभिन्न विपत्तिसम्वन्धी थुप्रै तालिमहरु आयोजना गरेका थियौं । विपत्तिपछिको उद्दार राहतमा हाम्रा युवाहरु प्रशिक्षित थिए । थुप्रै विशेषज्ञहरु ल्याएर छलफल गरेका थियौं । हामीले भूकम्प आउँछ भन्ने थाहा पाएरै यो सबै गरेको जस्तो भयो ।
भूकम्पपछिको २५ मिनेटभित्र विवेकशील पार्टीका यूवाहरु अस्पतालमा पुगिसकेका थिए । सरकारी अस्पतालहरुमा हाम्रो ब्यानर राखेर आपत्कालीन सहायताहरु उपलब्ध गरायौं । म टिचिङ अस्पतालमा थिएँ । अस्पतालमा औषधि सकिएर बिरामीको बेहाल हुने अवस्था आएको थियो । म र केही साथीहरु मिलेर अस्पतालका डाक्टर, नर्स र कुरुवाहरुसित पैसा संकलन गर्यौं । एक घण्टाभित्रै एक लाख रुपैयाँ उठ्यो । त्यही पैसाले बाहिर औषधी किनेर ल्याएर अस्पताललाई दियौं । अरु अस्पतालका खटिएका साथीहरुले पनि यसै गरे ।
हाम्रा साथीहरुले भूकम्पमा परेका घाइतेहरुको कुरुवाको जस्तो काम गरे । डाक्टर र नर्सहरुलाई पनि आवश्यक सहयोग उपलब्ध गराए । सुरुको दिन काठमाडौंमा केन्दि्रत भए पनि भोलिपल्टदेखि काठमाडौं बाहिर परिचालित भयौं । त्यसका लागि हामीले एउटा हटलाइन नम्बर फेसबुकमा सार्वजनिक गरेका थियौं । त्यो नम्बर साँच्चिकै यति हट भयो कि एक-एक मिनेटमा फोन आउँथ्यो । हामीलाई विभिन्न स्थानको सूचना दिएर उद्दार र राहतका लागि अनुरोध गर्थे । तर, हाम्रो साधन स्रोत केही थिएन । त्यतिबेला हामीले मध्यस्थकर्ताको जस्तो भूमिका निभायौं । हामी समस्याहरु सुन्थ्यौं र समाधानका लागि सूत्रहरु खोज्थ्यौं । सहयोग गर्न खोज्ने र सहयोग खोजिरहेकाहरुलाई जोडिदिने पुलको काम गर्यौं । १७ वटा जिल्लाका ३ सय वटा ठाउँमा हामी आफैं पुग्यौं ।
हामीले अहिले भूकम्प कारखाना स्थापना गरेका छौं, जहाँ भूकम्पपछि चाहिने कन्स्ट्रक्सन, वेल्डिङ, सिलाई बुनाईलगायतका सीपहरु सिकाइन्छ ।
Post a Comment