Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

ओलीजी झूठा हुनुहुन्छ कि प्रचण्डजी ? हेर्न बाँकी छ



 काठमाडौं , वैशाख २९ गते  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला मंगलबार अपरान्ह पाँचथरको फिदिमस्थित पसलमा चिया पिइरहेका थिए । अहिलेको समसामयिक राजनीतिबारे हामीले डा. कोइरालासँग छोटो ‘चिया गफ’ गर्‍यौंः
तपाई पूर्वतिरको भ्रमणमा हुनुहुँदोरहेछ जिल्लातिर के कामले डुल्नुभएको ?
म ठ्याक्कै भन्नुपर्दा तपाईसँग कुरा गरिरहँदा पाँचथरको फिदिममा साथीभाइसित चिया खाइरहेको छु । पार्टीको काम त हुन्छ नि । साथीभाइलाई धन्यवाद दिने । शुभकामना दिने , संगठन गर्ने । यही काममा आएको हुँ ।
सरकारको नीति कार्यक्रम प्रस्तुत हुँदा कहाँ हुनुहुन्थ्यो ?
नीति कार्यक्रम हुने दिन म पूर्वाञ्चल आएँ । बिराटनगरमा मेरो कार्यक्रम थियो । मोरङका दुईवटा गाविसमा कार्यक्रम थियो, त्यो सकेर म आज ताप्लेजुङ जाँदैछु ।
राष्ट्रपतिले नीति कार्यक्रम घोषणा गर्दा टेलिभिजनमा लाइभ हेर्नुभयो होला नि ? 
जिल्ला गएपछि कहाँ भ्याउनु ? टेलिभिजन त मैले अरुबेला पनि हेर्ने गरेको छैन । बानी नै छैन मेरो ।
पत्रपत्रिका र अनलाइनमा पढ्नुभयो होला, नीति कार्यक्रम तपाईलाई कस्तो लाग्यो ?
हेर्नुहोस्, नीति कार्यक्रम खराब भनेर त भन्दिँन । भाषा बडा राम्रो छ । केही गुलियोहरु चटाइएको छ । तर यो सम्भव छ कि छैन भन्ने कुरामा भर पर्छ । नीति कार्यक्रमले त बजेटको समग्र तस्वीर दिने हो । तर, मैले एउटा कुरा नबुझेको के हो भने सरकारले संविधान नै मान्दैन कि जस्तो लाग्यो ।
कसरी ?
कांग्रेस सशक्त प्रतिपक्षमा  । यो भनेको सधैं प्रतिपक्षमा बस्ने होइन । कुनै पनि प्रतिपक्षले सरकारमा जाने प्रयास जहिल्यै पनि गरिराखेको हुन्छ
जस्तै अहिले निजगढ फास्ट ट्रयाक राज्यले आफैं बनाउने भनेको छ नि, कुरा राम्रो हो, तर सरकारले बिस्र्यो कि जस्तो लाग्यो, त्यो फास्ट ट्रयाकको मुद्दा सर्वोच्च अदालतमा फैसला नभइकन राष्ट्रपतिबाट यस्तो कुरा बोल्न लाउनुहुन्थ्यो कि हुँदैनथ्यो ? ठूलो प्रश्न छ यो । यस्ता अरु पनि कुराहरु होलान् थुप्रै । तर, सर्वोच्च अदालतमा मुद्दा छ अनिसरकार चाँहि हामी आफैं गर्छौं भनेर राष्ट्रपतिबाट बोल्न लगाउँछ । राष्ट्रपतिजीको गल्ती होइन यो, सरकारको गल्ती हो ।
अन्यथा यो नीति तथा कार्यक्रम हेर्दा र पढ्दा बडा राम्रो लाग्छ । पञ्चायतकालदेखि नै राम्रै लागेको हुन्छ । कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने कुरा मुख्य हो । १० वर्षमा १० हजार मेगावाट बिजुली भन्नुभएको छ, आउँछ, आउँदैन थाहा छैन । १०/११ घण्टा बिजुली हुँदैहुँदैन ।
यो साता कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको सरकार परिवर्तनको असफल प्रयासलाई लिएर पार्टी नेतृत्व आलोचनाको शिकार बनेको छ । प्रकाशमान सिंह, सीतादेवी यादवको टोली बूढानीलकण्ठमा डेलिगेसन नै गयो । सरकार ढाल्न देउवाले गरेको प्रयासबारे तपाई के भन्नुहुन्छ ?
एउटा कुरा हामी सबैले बुझ्न जरुरी के छ भने हामी सशक्त प्रतिपक्षमा छौं । यो भनेको सधैं प्रतिपक्षमा बस्ने होइन । कुनै पनि प्रतिपक्षले सरकारमा जाने प्रयास जहिल्यै पनि गरिराखेको हुन्छ । यसमा पनि नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हो । ऊ प्रतिपक्षमा बसेको छ र उसले सरकारमा जाने कोशिस गर्छ ।
दोस्रो कुरा प्रचण्डजी पनि सरकारसँग ‘नाखुश’ भएको कुरो आएको थियो । र, प्रचण्डजीले नै प्रस्ताव के गर्नुभयो भने मेरो नेृत्वमा भयो भने राष्ट्रिय सहमतिको सरकार बन्छ । उहाँले यस्तो कुरा गर्नुभयो । म त एउटा कुरा तपाईलाई अहिले पनि भन्दैछु, त्यो के भने संसदीय व्यवस्थामा दुईवटा ठूला दल एक ठाउँमा उभिन हुँदैन । यसले झन् भ्रष्टाचारलाई प्रश्रय दिन्छ । दुईवटा ठूला दल एक ठाउँमा उभिए भने  सुशासन हैन कि कुशासन बढाउँछ ।
तर, प्रचण्डजीले भन्नुभयो कि संविधान, मधेसको समस्या, आदिवासी जनजातिका समस्याहरुलाई समाधान गर्नका लागि मेरो नेतृत्व भयो भने हुन्छ । उहाँले यसो भनेपछि हामी अगाडि बढेको हो । उहाँले यु टर्न गर्नु भो, ठीकै छ । हामी प्रतिपक्षमै छौं के भयो र ।
अहिले एमाले र एमाओवादीवीच सम्पन्न ९ बुँदे समझदारीमा राष्ट्रिय सहमतिको सरकारका लागि पहल गर्ने भनिएको छ । उसोभए अब कांग्रेस र एमाले एकै ठाउँमा आउने सम्भव छैन त ?
हैन, भोलि राजनीतिमा के हुन्छ, त्यो आफ्नो ठाउँमा छ । तर, मैले त सुशील कोइरालाजीको नेतृत्वको सरकार बन्दादेखि नै दुई ठूला एकसाथ सरकारमा बस्नुहुँदैन भन्दै आएको छु ।
निर्दलीय शासन व्यवस्थामा दुईवटा दलहरु एकै ठाउँमा बस्न बेग्लै कुरा हो । यहाँ पनि कम्युनिष्टहरुले त्यही गर्न खोजिराखेका छन् । एक ठाउँमा उभिएर जानु हुँदैन । यसले प्रजातन्त्रलाई, लोकतन्त्रलाई र संसदीय व्यवस्थालाई घाटा हुन्छ । भ्रष्टाचार मौलाउँछ । कुशासन बढ्छ ।  संसदीय प्रणाली पनि भन्ने अनि दुईवटा ठूला दल पनि सरकारमा गए भने भोलि त त्यो माने नै भएन नि ।
उसोभए प्रचण्ड र ओलीले ९ बुँदेमा हस्ताक्षर गरे पनि राष्ट्रिय सहमतिको सरकार बन्ने तपाई सम्भावना देख्नुहुन्न ?
म त विरोध गर्छु । तर, पछि के हुन्छ, त्यो बेग्लै कुरा हो । नेपाली कांग्रृेसमा त अरु पनि छन् नि । केन्द्रीय समितिको बैठक होला । छलफल होला । तर, मैले सुशील कोइरालाजीको नेतृत्वका बेलामा पनि यो कुरा उठाएको थिए ।
हामी अघि पार्टी सभापति देउवाको भूमिकाबारे कुरा गरिरहेका थियौं, सरकार परिवर्तनका लागि देउवाले खेलेको भूमिका सही नै थियो त ?
यो माओवादीले प्रस्ताव गरेको हो । कतिपयले भन्छन्, यसमा देउवाजीले हामी सबैलाई सल्लाह गर्नुपथ्र्यो । केन्द्रीय समिति बोलाएर गर्नुपथ्र्यो, त्यो सही हो । तर, आज म गिरिजाप्रसाद कोइरालालाई सम्झिराखेको छु, उहाँले बाह्रबुँदे सम्झौता गर्दाखेरि जसले यो कुरा यठाउनुभयो, कतिजनालाई थाहा थियो त्यो कुरा ? थाहा थिएन नि । सुशील कोइराला त्यो बेला उपसभापति हुनुहुन्थ्यो, गिरिजाबाबुको दाहिने हात हुनुहुन्थ्यो । वहाँलाई त बाह्रबुँदे सम्झौता हुँदैछ भनेर थाहा थिएन । यस्तो कुरामा विश्वासिला मान्छेहरुसँग उहाँले काम लिनुहुन्छ अनि त्यो काम  सफल हुन थालेका बेलामा केन्द्रीय समिति बोलाएर त्यहाँ इन्डोर्स गरिन्छ ।
उसोभए शेरबहादुर देउवाले खेलेको भूमिकालाई तपाई अस्वाभाविक मान्नुहुन्न त ?
म अस्वाभाविक ठान्दिँन ।
देउवा निवासमा डेलिगेसन चाहिँ किन गयो त कांग्रेसको टोली ?
पार्टीमा दुईवटा खेमा छ भन्ने तपाईहरुलाई थाहै छ । वहाँहरुलाई चित्त बुझेन । वहाँहरुसित सोधपुछ गरिएन भन्ने लाग्या होला उहाँहरुलाई । उहाँहरुले सोध्न त पाउनुहुन्छ नि, त्यसलाई पनि म अन्यथा मान्दिँन ।
अब शेरबहादुरजीले पनि बुझ्नुपर्‍यो, कति अप्ठ्यारो हुँदोरहेछ सभापति भैसकेपछि । दुई महिना त बित्यो नि
सभापति शेरबहादुर देउवाले पदाधिकारी र केन्द्रीय सदस्यको मनोनयनमा ढीला गरिरहेको आरोप लाग्न थालिसकेको छ, महाधिवेशन भएको २ महिना कट्न लागिसक्यो…..
हैन, अब शेरबहादुरजीले पनि बुझ्नुपर्‍यो, कति अप्ठ्यारो हुँदोरहेछ सभापति भैसकेपछि । दुई महिना त बित्यो नि त हैन । अस्ति सुशील कोइरालालाई ढीलासुस्ती र एकलौटी गरेको भन्ने । त्योबेला उहाँले सुशील कोइरालालाई अप्ठ्यारोमा पार्नुभयो । अब त उहाँ आफैं सभापति भइसकेपछि गाह्रो हुँदोरहेछ भन्ने त उहाँले बुझ्नुभएको होला । यसमा पनि मलाई केही भन्नु छैन शेरबहादुरजीलाई । किनभने सभापतिलाई गाह्रो हुन्छ, अप्ठ्यारो हुन्छ । मैले बुझेको छु यी कुराहरु ।
तपाईको विश्लेषणमा अबको राजनीति कता जान्छ ? ओली सरकार दर्बिलो भएको हो अब ?
मैले तपाईहरुकै अनलाइनखबरमा एउटा समाचार पढेको थिएँ, यो ९ बुँदे सम्झौता जुन भयो, त्यसको अलावा ३ बुँदे अर्को भएको छ भनेर मैले तपाईकै अनलाइनमा पढेको हो । त्यसमा ओलीजीले म छाड्छु भन्नुभएको छ । एग्रिमेन्ट नै गर्न खोजिएको रहेछ, ओलीजीले नमानेको भनेर लेखेको छ  । म राजीनामा दिन तयार छु, एग्रिमेन्ट गर्दिँन भन्नुभएको छ । अब ओलीजी झूठा हुनुहुन्छ कि प्रचण्डजी झूठा हुनुहुन्छ, त्यो हेर्न बाँकी छ । यो भविश्यले बताउने कुरा हो ।
सरकारले मंसिरमा स्थानीय चुनाव गर्ने घोषणा गरिसक्यो, अब कांग्रेस चुनावमा होमिन्छ कि के गर्छ ?
स्थानीय निर्वाचन एकदमै हुन जरुरी छ । यसमा कुनै दुईमत छैन । मैले अस्ति पश्चिमको भ्रमण गरें, अहिले पूर्वको भ्रमण गरिरहेको छु । मैले कांग्रेसका साथीहरुलाई यो जोड दिइराखेको छु कि स्थानीय निकायको चुनाव छिटोभन्दा छिटो सरकारले गराउँछ, त्यसका लागि तपाईहरु गाउँमा संगठनलाई विस्तार गरिकन अगाडि बढ्नोस भनेर म सबै ठाउँमा भनिराखेको छु ।
अब मंसिरमा स्थानीय चुनाव सफल होला त ?
मैले एउटा समस्या कहाँ देखिराखेको छु भने सरकारले भारतलाई चारबुँदे नन पेपर डकुमेन्ट दियो । त्यसमा दुईबुँदा संविधान संशोधन भयो । अर्को दुई बुँदामध्ये एउटा कमल थापाजीको संयोजकत्वमा कमिटी बन्ने भनेको थियो, बन्न सकेको छैन । अर्को, टीओआर पनि बनेको छैन ।
अर्को, सबैभन्दा महत्वपूर्ण कुरा, चौथो बुँदामा के लेखेको छ भने ३ महिनाभित्र संविधानका विवादित विषयहरु हामी सल्टाउँछौं भनिकन भारत सरकारलाई नेपाल सरकारको नन पेपर डकुमेन्ट गएको छ भन्ने कुरा त तपाईहरुकै सञ्चारमाध्यमले उल्लेख गरेको हो नि । यस्तो हो भने अब संविधानका विवादित मुद्दाहरु, मधेसमा प्रदेशवाला समस्याहरु छन् भने त्यो सल्टाएर गर्दाखेरि स्थानीय निकायको निर्वाचन गराउनलाई सजिलो हुन्छ । हैन भने मधेसमा झन नराम्रो परिस्थिति आउन सक्छ भन्ने मैले आँकलन गरेको छु ।
तर, नेपाली कांग्रेस स्थानीय चुनावको विपक्षमा छैन हैन त ?
चुनाव त राम्रो हो, यसका लागि हामी तयारै छौं । कांग्रेसका साथीहरु यसमा तयार छन् । राजनीतिक समस्याहरु समाधान गरेर चुनाव गर्दा राम्रो ।
तपाई त मोरङको जनिप्रतिनिधिसमेत हुनुहुन्छ, बजेट बनाउने बेलामा सरकारले तपाईहरुका कुरा कत्तिको खाइरहेको छ ?
हाम्रो कुरा त के खाने ? मैले आफ्नो क्षेत्र भनेर हैन कि मोरङलाई भोलि राजधानी बनाउने भनौं न ( शायद यहाँ फिदिमका साथीहरुले सुनेर रिसाउनुहोला कि ) मोरङलाई प्रदेशको राजधानी बनाउने हिसाबले मैले ३/४ वटा प्रोजेक्ट भनेको छु ।
के-के हुन् ती प्रोजेक्ट ?
एउटा रंगशाला । अर्को एयरपोर्टलाई विस्तार गर्ने । तेस्रो धेरै कामहरु भइसकेको बिराटनगर रिङरोडलाई कालोपत्रे गर्ने । गत साल मैले यसमा पाँचै करोड हालिदिएको छु । त्यसैगरी चौथोमा कोशी अञ्चल अस्पताललाई अलिकति अपग्रेड गरिदिनु भनेर भनेको छु । कति हाल्नुहुन्छ, कति हाल्नुहुन्न, कति सक्नुहुन्छ, कति सक्नुहुन्न,  यो त सरकारको कुरा हो । हामीले त प्रेसर दिने मात्रै हो । हामी गर्दैछौं ।
म जुन जुन जिल्लामा जान्छु, त्यहाँ खानेपानी, सडकका समस्याहरु देख्छु त्यो भन्छु । तर बजेट नआइकन मैले के भन्नु ? तर, तपाईले राम्ररी लेखिदिनुभयो भने उहाँहरुले यी कुराहरु पक्कै गर्नुहुन्छ ।
अन्तिममा एउटा प्रश्न, ओली सरकार ढाल्न नसकेपछि गाउँका कांग्रेस कार्यकर्ता निराश भएका छैनन् ? तपाईले कस्तो पाउनुभयो ?
निराश बन्नुभएको छैन । अहिले म फिदिमका साथीहरुसँग बसेर चिया पिउँदैछ, उहाँहरुको मनोबल गिरेको म देख्दिँन । उहाँहरुले के भयो भनेर बुझ्न खोज्नुभएको छ । - अनलाइन खबरबाट 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget